आफ्नै सन्तानको दवावले अन्धकार बन्दैछ घर

वसन्तराज कुँवर
एक दिन नार्कोनन् नेपालमा मलाई भेट्न एक दम्पत्ति आउनु भयो । आफ्नो सन्तान दिन प्रतिदिन पातलो हुँदै गएपछि चिन्तित भएका अभिभावक उहाँले त्यसको कारण पत्ता लगाउन मलाई सम्पर्क गर्नुभएको थियो । मसंग भेट्ने पहिल्यै तय भएका कारण मैले आउँदा छोराको पिसाव लिएर आउन अनुरोध गरेको थिएँ । उहाँले पिसाव लिएर आउनु भएको थियो, पिसाव जाँच गर्दा छोराले गाँजा खाएको प्रष्ट देखियो ।
पढाईमा रुची घट्दै गएको र परीक्षामा कैयौं विषयमा अनुत्तिर्ण भएको अवस्थामा उनलाई पढाई रोकेर उपचारमा राख्न कठिन थियो । लामो छलफल पछि उहाँहरु विचार गर्छु भनी जानु भयो तर मलाई थाहा थियो केवल विचार गरेर मात्र समस्या समाधान हुनेवाला थिएन ।
केहि दिनपछि एक साँझ उहाँहरुले मलाई फोनमा आफ्नो बच्चालाई उपचार केन्द्र लगिदिन अनुरोध गर्नुभयो । हार खाएका बावुआमाले यसरी अनुरोध गरेपछि पक्कै पनि त्यस बच्चाले दुःख दियो होला भनेर सहजै अनुमान गर्न सकिन्थ्यो । हामीले त्यस बच्चालाई उपचारमा ल्यायौं । उनको हालत निक्कै विग्रिसकेको थियो । दिमागी हालत पनि ठिक थिएन ।
केहि दिनपछि ती आमा मलाई भेट्न आउनु भयो । मैले भने– ‘तपाईको छोराको अवस्था धेरै नराम्रो भई सकेको छ । लगभग एक वर्ष उसलाई उपचारको खाँचो छ ।’ आमालाई मैले सम्झाउँदै गर्दा हेलमेट लगाएका एक युवक त्यहाँ आए । ती आमाले मलाई चिनाउँदै भन्नु भयो– ‘यी मेरा जेठा छोरा हुन् ।’ जव मैले जेठा छोरालाई हेरेँ उनको अनुहारमा तेज थिएन । उनको सामना गर्ने र सम्वाद गर्ने क्षमता एकदमै कम थियो । मलाई ती जेठा छोरा भनि चिनाईएका व्यक्ति देख्ने वित्तिकै ड्रग्स लिने गर्दछन् भन्ने प¥यो । आमालाई केहि नभनी म भर्ना गरिएका कान्छा छोराले गाँजा लिएका कारण उनको मानसपटलमा पुगेको क्षति बारे बताउदै थिएँ बीचमै ती दाईले मेरो कुरा प्रतिवाद गर्दै गाँजा भनेको त के हो र ? युरोप अमेरिकामा कानुनी मान्यता दिएको छ भनेर खाक्क बोले । अव मलाई ती दाईले गाँजा लिन्छन् भन्ने थप विश्वास भयो । किनकी एउटा भाईले गाँजा लिएको कुरामा दुःख मनाउ गर्नु त कताकता उनी उसले खाएको ड्रग्सको सपोर्ट गरिरहेका थिए । त्यसपछि मैले सहनै सकिन र भने– ‘तपाई मसंग नरिसाउनुहोस् तर जँहासम्म मलाई लागिरहेछ तपाई पनि गाँजा सेवन गर्नु हुन्छ ठिक हो ? भनेर सिधै प्रश्न गरें ।’ मेरो कुराले उनी अलि रिसाएर भने– ‘म किन गाँजा लिन्छु ?’ मैले उसो भए तपाईको पिसाव चेक गर्न सक्छु ? भने उनले हुन्छ भने । मैले तत्कालै उनको हातमा प्लास्टिकको ग्लास थमाई पिसाव लिएर आउन भने । त्यसपछि भने उनी अलि हच्के । ती निरपराध आमा एकदमै अचम्ममा परिरहेकी थिईन् । आमाले पनि नखाएको भए पिसाव दिए भै हाल्योनि भनिन् तर पहिल्य झैं फूर्तिसाथ उनले पिसाव दिन सकेनन् । मैले पिसाव दिन प्रेसर दिएँ । अन्तमा उनले पिसाव त्याए र जाँच गर्दा उनको पिसावमा गाँजा देखियो ।
यो अप्रत्यासित घटनाले आमालाई थप दुःखी बनायो । त्यसपछि ती जेठा छोराले आफूले धेरै पहिला एकपटक गाँजा लिएको दलिल दिए तर कुरो पत्याउन सकिने थिएन । पिसावमा प्रष्ट गाँजा देखिइसकेको थियो ।
त्यो घटनापछि मलाई थप चिन्ता प¥यो किनकी भाइको उपचार पश्चात पनि उनी दाइका कारणले फेरि ड्रग्समा फर्कन सक्थे । उनीहरुको सुत्ने कोठा पनि एउटै रहेछ ।
त्यो घटना घटेको केहि दिनपछि आमाले कान्छो छोरालाई जेठा छोराले आफै सुधार्छु भनेकाले डिस्चार्ज गर्न आएको छ भन्दै मलाई भेट्न आउनु भयो । ती सोझी आमाप्रति म धेरैनै भावुक भएँ । माया पनि लाग्यो । कति निश्चल र अवोध थियो ती आमाको मन । उनलाई दाजुभाईले वेवकुफ बनाउँदै थिए तर पनि मायामा ती आमा अन्धो भएकी थिईन् । आखिर उनले आफ्नो कान्छो छोरालाई डिस्चार्ज गरेर लगिन् । जाने बेलामा मलाई लाग्यो यी आमाको दुःख अझै सकिएको छैन ।
ड्रग्सको गम्भिरता, प्रकृति र कठोरता नबुझेका आमा बावुहरु ड्रग्स सेवन गर्ने छोराछोरीको कुरा पत्याएर उनीहरु सुध्रने विश्वास पाल्दछन् तर यो विश्वास कति घातक र क्षतिपूर्ण हुन्छ, त्यो बुझ्दैनन् । मलाई थाहा छ, अव त्यो घरमा ज्यादै ठूलो क्षति हुनेछ ।